Logo

२५ असोज,वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बोर्डर आउटपोस्ट (बीओपी) अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार दिउँसो ३ः२० बजे ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ५ किलोग्राम गाँजा बरामद गरेको हो।

नेपालबाट भारततर्फ लैजाँदै गरिएको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि र शरीरभित्र गाँजा लुकाएर तस्करी प्रयास गरिएको भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा पर्सागढी नगरपालिका–९ का करिब २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ का करिब १९ वर्षीय गौत्तम पटेल रहेका छन्।

गाँजासँगै उनीहरूबाट मोटरसाइकल, मोबाइल, घडी र नगद २२० रुपैयाँ समेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सिमा क्षेत्रमा लागुऔषध तस्करी रोक्न सशस्त्र प्रहरीको गस्ती र निगरानीलाई थप कडाइ गरिएको छ।


सम्बन्धित समाचार