२५ असोज, काठमाडौं। प्रतिबन्धित भेटेनरी औषधीहरू किर्ते कागजातमार्फत आयात गरेको अभियोगमा कान्तिपुर भेट डिस्ट्रिब्युटर्स की अध्यक्ष तथा सञ्चालक सुना सुवेदी पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार सुवेदीलाई काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुलबाट शुक्रबार पक्राउ गरिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले पक्राउ पुष्टि गर्दै प्रारम्भिक अनुसन्धानमा कम्पनीले किर्ते कागजात बनाएर प्रतिबन्धित औषधी आयात गरी बिक्री गर्दै आएको पाइएको जानकारी दिए।
सुवेदीको स्थायी ठेगाना सर्लाहीको ईश्वरपुर हो भने हाल उनी काठमाडौंको शंखमुलमा बस्दै आएकी थिइन्। कान्तिपुर भेट डिस्ट्रिब्युटर्स, ललितपुरमा सञ्चालनमा रहेको एक ठुलो भेटेनरी कम्पनी हो, जसले पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डरका नाममा पशु सेवा विभागबाट अनुमति लिएको थियो।
तर, अनुसन्धानमा खुलेको विवरणअनुसार सो अनुमति बाहिरका सामग्रीहरू आयात गर्न कम्पनीका सञ्चालकहरूले नक्कली कागजात बनाएका थिए। ती औषधीहरू पशु स्वास्थ्य तथा सुरक्षा मापदण्ड विपरीत रहेको बताइएको छ।
प्रहरीले सुवेदीमाथि किर्ते सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालेको छ। यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकालमा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणका कारण कम्पनी सञ्चालकहरू कानुनी कारबाहीबाट उम्किन सफल भएको प्रहरी स्रोतको दाबी छ।
हाल सुवेदीलाई हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
















