Logo

२६,असोज काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार रौतहटको माधव नारायण नगरपालिका–३ सखुअर्वास्थित निर्माणाधीन देवी माध्यमिक विद्यालय भवनको ठेक्कासम्बन्धी प्रक्रिया कानुनविपरीत सञ्चालन गरिएको पुष्टि भएपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

प्रतिवादीहरू को हुन्?

मुद्दामा संलग्न तीन व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्ण रहेका छन्।

आर्थिक वर्ष २०७७÷७८ मा विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा कानुनअनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि, ती अधिकारीहरूले सीमित सर्कुलेसन भएको सिटी पोस्ट राष्ट्रिय दैनिक नामक पत्रिकामा मात्र सूचना प्रकाशित गरिएको देखाएर ठेक्का प्रक्रिया अघि बढाएका थिए।

तर पत्रकार परिषद् नेपालबाट प्राप्त प्रमाणअनुसार ती सूचनाहरू वास्तविक रूपमा प्रकाशित नै नभएको पत्ता लागेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।अख्तियारका अनुसार प्रतिवादीहरूले झुटा विवरण पेश गरी रौतहट एडभटाइजिङ एजेन्सीलाई २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिलाएका थिए। यसले नगरपालिकालाई आर्थिक हानि पु¥याएको र उनीहरूले व्यक्तिगत लाभ लिने उद्देश्य राखेको आयोगको ठहर छ।

आयोगले दायर गरेको आरोपपत्रमा भनिएको छ, “सार्वजनिक खरिद ऐन अनुसार सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया सञ्चालन गर्नु गम्भीर अनियमितता हो। यस्तो मिलेमतोपूर्ण कार्यले स्थानीय तहको पारदर्शिता र उत्तरदायित्वमा आघात पु¥याएको छ।“ भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा अघि बढाइएको हो।


सम्बन्धित समाचार