१८ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको छ। बैठकले नेकपा (एकीकृत समाजवादी) सहितका नौ दलबीच भएको एकता सहमतिको अनुमोदन गर्नेछ।
पार्टीका अनुसार पछिल्लो सचिवालय बैठकका निर्णयहरू र नौ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुनेछ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार आजको बैठकमा नेताहरूलाई बोल्ने समय दिइएको छैन। “९ दलीय एकता सहमति र सचिवालयका निर्णयहरू अनुमोदनका लागि मात्रै बैठक बोलाइएको हो,” उनले भने।
पार्टी एकताको औपचारिक घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले जानकारी दिए।
यसअघि आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित आठ दलबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसैगरी, माओवादीबाट अलग भएका गोपाल किराती समूह पनि पुनः माओवादी केन्द्रमा फर्किसकेको छ।
















