१८ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा सुरु भएको छ ।
पार्टीले एकीकृत समाजवादीसहितका नौ वाम दलहरूसँग गर्ने तयारी गरेको एकताको निर्णयलाई अनुमोदन गर्न यो बैठक डाकिएको हो । राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु हुनुअघि आजै पार्टीको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले एकता सम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिएपछि लगत्तै आयोजक समितिको बैठक सुरु भएको हो ।
बुधबार हुने भनिएको एकता घोषणालाई अन्तिम वैधानिकता दिन यो बैठक महत्त्वपूर्ण मानिएको छ, यद्यपि निवर्तमान उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरूले एकता प्रक्रियामा असहमति जनाउँदै बैठक बहिष्कार गरेका छन् ।
















