Logo

१८ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको वाम एकता प्रक्रियामा असहमति जनाउँदै बाहिरिएका पूर्वमन्त्री जनार्दन शर्माले आज औपचारिक रूपमा ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् ।

ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस अभियानमार्फत नेपालको राजनीतिमा ‘तेस्रो र नयाँ समाजवादी बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्माले विगत आठ दशकमा भएका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरेका छन् । उनले वर्तमान अवस्थामा विद्रोह जायज र अधिकार भएको बताउँदै आजको आवश्यकता समाजवादी ऐक्यबद्धता रहेको उल्लेख गरे । उनले यो अभियान कुनै नयाँ पार्टी नभई विखण्डित वाम तथा प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको स्पष्ट पारेका छन् ।

अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको ठहर गरिएको छ ।  शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको विश्लेषण गरेका छन् ।

विज्ञप्तिमा,‘हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो । क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए। अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ,’ भन्दै नयाँ पुस्ताको नेतृत्वमा वैचारिक आन्दोलन को आवश्यकता औंल्याइएको छ।

शर्माले मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने र यसका लागि सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्। यस अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने र नेपाली विशेषतायुक्त समाजवाद निर्माणमा जोड दिएको छ।


सम्बन्धित समाचार