१९ कात्र्तिक, काठमाडौं । आज बिहानै काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडक खण्डमा भयानक टिपर दुर्घटना हुँदा एक जनाको जलेर दुःखद निधन भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको थियो र खस्नेबित्तिकै टिपरमा आगो लागेको थियो । सोही दुर्घटनामा परी टिपरसँगै जलेर चालक, मण्डनदेउपुर नगरपालिका–७ झगारपुर निवासी २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
यता टिपरका सहचालक सोही ठाउँका २२ वर्षीय बिक्रम राई भने गम्भीर घाइते अवस्थामा फेला परेका छन् । शरीरका विभिन्न भागमा जलेको अवस्थामा उद्धार गरिएका उनलाई धुलिखेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको छ । मृतक चालक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
















