Logo

२५ कार्तिक, काठमाडौँ । बिहार विधानसभा चुनावको दोस्रो र अन्तिम चरणका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदै छ ।

यस चरणमा राज्यभरका १२२ सिटका लागि १ हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

३ करोड ७० लाखभन्दा बढी मतदाता आफ्नो प्रतिनिधि चयन गर्न मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला मतदाता छन्।

यस चरणमा ४५ हजार ३९९ मतदान केन्द्र स्थापना गरिएको छ, जसमा ४० हजार ७३ ग्रामीण क्षेत्रमा रहेका छन्।

सबैभन्दा बढी मतदाता भएको क्षेत्र नवादा जिल्लाको हिसुआ सिट हो, जहाँ ३.६७ लाख मतदाता छन्। त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२-२२ जना छन्।

पहिलो चरणमा १२१ सिटका लागि मतदान सम्पन्न भएको थियो, जसमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको थियो।

दोस्रो चरणमा हुने मतदान मुख्यतः नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लाहरूमा केन्द्रित छ।
सुरक्षित र पारदर्शी मतदानका लागि चार लाखभन्दा बढी सुरक्षाकर्मीहरू राज्यभर तैनाथ गरिएको छ।

दोस्रो चरणका अधिकांश सिटहरू सीमांचल क्षेत्रका रहेका छन्, जहाँ मुस्लिम मतदाता संख्या उच्च छ। यही कारण यो चरण सत्तारूढ एनडीए गठबन्धन र विपक्षी इन्डिया गठबन्धन दुबैका लागि निर्णायक मानिएको छ।

एनडीएले विपक्षी गठबन्धनमाथि “घुसपैठीहरूलाई संरक्षण दिएको” आरोप लगाएको छ भने विपक्षी दलहरूले अल्पसंख्यक मतदाताको समर्थनमा भरोसा गरेका छन्।

मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको सरकारका आधा दर्जनभन्दा बढी मन्त्रीहरू पनि प्रतिस्पर्धामा रहेका छन्। यस चरणको मतदानपछि राज्यभरको निर्वाचन प्रक्रिया सकिनेछ


सम्बन्धित समाचार