Logo

२५ कार्तिक, वीरगञ्ज । मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा गरिएको असंवैधानिक कदम र नव–नियुक्त मुख्यमन्त्रीको विवादास्पद नियुक्तिविरुद्ध जनमत पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

पार्टीले मंगलबार बिहान घन्टाघर क्षेत्रमा विरोधसभाको आयोजना गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत “जंगली क्षेत्र”मा तथाकथित मुख्यमन्त्रीको नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो । प्रदर्शनका क्रममा कार्यकर्ताहरूले “संविधानको रक्षा गर”, “संघीयताको सम्मान गर”, “असंवैधानिक सरकार खारेज गर” जस्ता नारासहित र्‍याली निकालेका थिए ।

जनमत पार्टीका नेता–कार्यकर्ताहरूले प्रदेश प्रमुखको कदम संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार भएको बताएका छन् । उनीहरूले मधेश प्रदेशमा संविधानविपरीत सरकारले शपथ ग्रहण गरेको घटना संघीय व्यवस्थामाथिको अपमान भएको टिप्पणी गरे ।

कार्यक्रममा जनमत पार्टीका प्रदेश र जिल्ला स्तरीय नेताहरूको सहभागिता थियो । उनीहरूले प्रदेशमा लोकतान्त्रिक अभ्यासको पुनर्स्थापनाका लागि राजनीतिक र कानुनी दुवै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

पार्टीका नेताहरूले भने, “संविधान र संघीयताको मर्ममाथि आघात पुर्‍याउने जो कोही पनि दण्डित हुनुपर्छ ।” उनीहरूले असंवैधानिक रूपमा गठन गरिएको सरकार तत्काल खारेज गर्न माग गर्दै संघीय र प्रदेश संरचनाको सम्मान गर्न आग्रह गरे ।

वीरगञ्जमा भएको सो प्रदर्शनमा जनमत पार्टीका युवा, विद्यार्थी र महिला संगठनका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार