२५ कात्र्तिक, धनुषा । धनुषामा एक ६२ वर्षीया महिलाको विभत्स हत्या भएको छ ।
धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी चन्द्रकला देवी दासको हत्या भएको हो । सोमबार साँझ घरभन्दा करिब ५०० मिटर टाढा खेतमा उनको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् । मृतकको अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको प्रहरीले जनाएको छ ।
हत्याको जानकारी राति करिब ९ बजे प्राप्त भएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार मृतक महिलाले लगाएका सुनचाँदीका गरगहना पनि लुटिएको पाइएको छ । प्रहरीले अनुसन्धानका क्रममा लुटिएको गहना बरामद गरेको भए पनि लुटपाटमा संलग्न व्यक्तिको पहिचान भने खुलाएको छैन ।
यसै घटनाको सिलसिलामा धनुषा प्रहरीले एकजना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । स्थानीय स्रोतका अनुसार मृतक महिला मिटरव्याज पीडित भएको र सोही कारणले उनको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । प्रहरीले हत्या र लुटपाट दुवै विषयमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।
















