Logo

२५ कात्तिक,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको उच्च कर आधा घटाउने घोषणा गरेका छन्। उनले भारतले रूसी तेल खरिदमा कमी ल्याएको कारण अमेरिकी कर पनि घटाइने बताएका हुन्।

ट्रम्पले भने, “अहिले भारतमाथिको कर रूसी तेलका कारण धेरै उच्च छ। तर अब उनीहरूले रूसी तेलको खरिद घटाएका छन्। त्यसैले हामी भारतमाथि लगाइएको कर घटाउने निर्णय गरेका छौं।”

यसअघि ट्रम्पले भारतसँगको व्यापार सम्बन्धमा सुधार आउने संकेत दिएका थिए। उनले भनेका थिए, “हामी भारतसँग व्यापार सम्झौताको निकै नजिक छौं, र भारतीय सामानहरूमा लगाइएको उच्च कर चाँडै घटाउन सकिन्छ।”

गत केही दिनयता, ट्रम्पले बारम्बार भारतले रूसी तेलको खरिद घटाएको वा रोकेको बताउँदै आएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत प्रशंसा गरेका छन्। तर भारतीय सरकारको तर्फबाट हालसम्म यसबारे कुनै औपचारिक पुष्टि भएको छैन।

ट्रम्प प्रशासनले सुरुमा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो। तर केही महिनापछि यो दर बढाएर ५० प्रतिशत पुर्‍याइएको थियो। ट्रम्पले भारतलाई “रूसी तेल र हतियार खरिदमार्फत भ्लादिमिर पुटिनको युक्रेन युद्धलाई अप्रत्यक्ष सहयोग गरेको” आरोप लगाएका थिए।

भारत–अमेरिका बीचको व्यापार सम्झौताका लागि वार्ता सन् २०२५ को फेब्रुअरीमा सुरु भएको थियो। पाँच चरणको वार्ता सम्पन्न भइसकेपछि अगस्टमा ट्रम्पले भारतमाथि ५० प्रतिशत कर घोषणा गर्दै वार्ता रोकिदिएका थिए। यद्यपि पछिल्ला हप्ताहरूमा दुबै देशबीच पुनः सकारात्मक संकेतहरू देखिएका छन्।

विश्लेषकहरूका अनुसार, ट्रम्प प्रशासनको पछिल्लो निर्णयले भारत–अमेरिका व्यापार सम्बन्धमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार