Logo

२५ कात्र्तिक, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सक्रिय संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले पछिल्लो एक वर्षको अवधिमा ठूलो संख्यामा महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

गत आर्थिक वर्ष २०८१र८२ मा भारत लगायत बाँके जिल्लाका विभिन्न नाकाहरूबाट गरी कूल ३९९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको संस्थाकी जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिएकी छन्। उद्धार गरिएकामध्ये छ जनालाई त भारतबाटै फिर्ता ल्याइएको थियो ।

संस्थाका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये ३०३ जनालाई संस्थाले सिधै अभिभावकको जिम्मा लगाएको थियो भने ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई बुझाइएको छ। बाँकी एक जनालाई भने पुनर्स्थापनाका लागि अर्को संस्थामा पठाइएको छ । सोही आर्थिक वर्षमा संस्थाले मानव बेचबिखनको कसुरमा आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको र नौ हजार ३९४ जनालाई परामर्श सेवा प्रदान गरेको क्षेत्रीय संयोजक सञ्जित सिंहले बताएका छन् । शान्ति पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनविरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

बाँकेको विभिन्न पाँच स्थानमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी यो अभियान चलाइरहेको संस्थाको कामलाई जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरेर नागरिकलाई जागरूक बनाएको बताएका छन् । उनले सरकारी निकाय, सामाजिक संघसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेकोमा जोड दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार