२६ मंसिर,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने बताएका छन्।
शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको “सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राजनीतिमा युवाहरूको उपस्थिति कसैले रोक्न नसक्ने स्पष्ट पारे।
उनले भने, “नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुनेवाला छ। जबरजस्त उपस्थिति हुनेवाला छ। कसैले रोकेर रोकिँदैन। पार्टीभित्र र नयाँ पार्टीभित्र पनि।” उनले समावेशिता र महिला प्रतिनिधित्वमा जोड दिँदै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
मन्त्री खरेलले राजनीतिक दलहरूलाई युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि तयार रहन नसक्दा सुख नपाइने जिकिर पनि गरे। उनका अनुसार, “घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने भन्ने मानसिकता देखिन्छ। अब दिनुपर्छ, नदिईकन सुखै छैन।”
उनले युवाहरूलाई नेतृत्वमा ल्याउनु बाध्यता भएको र अब राजनीतिक दलहरूले यसमा ध्यान दिनु अनिवार्य भएको बताए।














