२ वैशाख,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले रमजान पर्वको अवसरमा विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले जानकारी दिँदै यूएई सरकारले पवित्र रमजानको अवसरमा मानवीय आधारमा नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारको तर्फबाट हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल र यूएईबीचको सम्बन्धमा थप सौहार्दता अभिवृद्धि हुने गरी गरिएको यस निर्णयको उच्च मूल्यांकन गरिएको उल्लेख छ।
नेपाल सरकारको आग्रह र अबुधाबीस्थित नेपाली दूतावासको समन्वयपछि उक्त आममाफी सम्भव भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यूएईको यस निर्णयले दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।