२ वैशाख,वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा भारतीय नम्बर प्लेट भएका सवारीसाधनलाई लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको छ।
बुधबार दिउँसो ४:०० बजेदेखि ५:३० बजेसम्म छपकैया प्रहरी बिट अगाडि रहेको सडक खण्डमा सञ्चालन गरिएको अभियानका क्रममा सवारीसाधनहरूलाई रोकि–रोकि कागजात जाँच गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
चेकिङका क्रममा करिब ४० वटा मोटरसाइकल, स्कुटर तथा कारहरूको जाँच गरिएको थियो। तीमध्ये ११ जना चालकसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक तथा आवश्यक कागजात नभएको र इन्ट्री समेत नगरिएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको पनि फेला परेको छ। ती सवारीसाधनका चालकलाई सम्झाई–बुझाई गरेर छाडिएको उनले बताए।
प्रहरीले कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर कडाइका साथ चेकिङ अभियान सञ्चालन गरिने जनाएको छ।

















