२ वैशाख,काठमाडौं । १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेका एक व्यक्तिबाट सुरु भएको अनुसन्धानपछि करिब १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबारको जालो फेला परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६ चैतमा नेपालगञ्ज उपमहानगरपालिका–२० सम्झना चोकका ३१ वर्षीय नरेश रेउलेलाई सामाखुसीबाट पक्राउ गरेको थियो। क्रिप्टो कारोबारसम्बन्धी सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रेउलेले क्रिप्टो कारोबार गर्न इच्छुक व्यक्तिहरूलाई आपसमा सम्पर्क गराउने र त्यसबापत कमिसन लिने गरेको प्रारम्भिक बयान दिएका छन्।
उनीमार्फत अनुसन्धान अघि बढ्दै जाँदा ललितपुर नख्खुकी ३२ वर्षीया दिप्ती पोखरेलसम्म प्रहरी पुगेको थियो। पोखरेललाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो।
उनै पोखरेलमार्फत भारतीय नागरिक प्रवेश अली भन्ने एसके बसिर इकबाललाई एकान्तकुनाबाट पक्राउ गरेपछि प्रकरणको मुख्य जालो खुल्न थालेको प्रहरीले जनाएको छ।
इकबालले “बिनान्स” नामक क्रिप्टो ट्रेडिङ अकाउन्टमार्फत यूएसडी कारोबार गर्ने गरेको पाइएको छ। उनको ‘अकाउन्ट हिस्ट्री’ अनुसार हालसम्म करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार इकबाल विगत २८ वर्षदेखि नेपालमा बस्दै आएका थिए र उनले सामाखुसीमा “अली बाबा सर्भिसेस” नामक कम्पनी सञ्चालन गर्दै आएका थिए। सोही कम्पनीमार्फत उनले अन्य व्यक्तिहरूलाई पनि क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको छ।
अनुसन्धानमा अनिल घिमिरे नामका अर्का व्यक्तिको समेत संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ। हाल उनी फरार छन्।
यसैबीच, पक्राउ परेका नरेश रेउले पहिले पनि बैंकिङ कसुर, वैदेशिक रोजगार तथा हुण्डीसम्बन्धी मुद्दामा संलग्न रहेको प्रहरीको भनाइ छ।
प्रकरणमा संलग्न तीन जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि अभौतिक मुद्रा (क्रिप्टो) र हुण्डीसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ।
मुद्दामा करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ भने अदालतमा बयान र थुनछेक बहस जारी रहेको जनाइएको छ।

















