६ वैशाख, वीरगञ्ज । बितेका १३ वर्षदेखि वीरगञ्जको मेनरोड कहिले भत्काउने त कहिले जोगाउने “शतरंज” को खेल जस्तै बनिरह्यो। कहिले अदालतको अन्तरिम आदेश त कहिले राजनीतिक खिचातानीका बीच जोगिँदै आएका यहाँका घरधनीहरूले सपनामा पनि सोचेका थिएनन् कि, उनीहरूको वर्षौँको थातथलो यसरी एकाएक विल्लीबाँठ हुनेछ।
सर्वोच्च अदालतले सडक विस्तारको कानूनी बाटो खोलिदिएपछि सरकारले जुन आकस्मिक शैलीमा डोजर चलाउन सुरु गर्यो, त्यसले विकासको चमकभन्दा बढी मानवीय संवेदनाको अभाव झल्काएको छ।
शनिबारको बिदा मनाएर आइतबारको नयाँ योजना बुन्दै गरेका वीरगञ्जका व्यवसायी र घरधनीहरूका लागि आजको बिहानी निकै ”कालो“ र निर्मम सावित भयो। अघिल्लो दिन मात्रै जारी गरिएको १२ घण्टे उर्दी ले रातभर वीरगञ्जलाई सुत्न दिएन।
जब आज बिहान ५ बज्यो, वीरगञ्जको आकाशमा चराचुरुङ्गीको चिरबिर होइन, डोजरको क्रूर गर्जन सुनिन थाल्यो। त्यो गर्जनसँगै सुरु भयो— वर्षौँको मेहनतले ठड्याइएका महलहरूको अन्त्य र सयौँ सपनाहरूको अवसान।
मानवीय संवेदना शून्य प्रशासन
सडक विस्तार हुनु र अतिक्रमण हट्नु शहरको दीर्घकालीन हितका लागि सकारात्मक पक्ष हो, तर राज्यले आफ्नै नागरिकलाई दिने समय र व्यवहारमा भने ठूलो प्रश्न उठेको छ। हामी सडक विस्तारको विरोधी होइनौँ, तर के हामीलाई आफ्नो बास र व्यापारको सामान सुरक्षित सार्ने न्यूनतम समय समेत दिनु पर्दैनथ्यो, एक पीडितले आँसु पुछ्दै प्रश्न गरे, ”स्थानीय प्रशासनले अपराधीलाई जस्तो व्यवहार गर्यो, यहाँ मानवीय संवेदना कतै देखिएन।
प्रशासनले मध्यरातमा संरचना खाली गर्न दिएको आदेशका कारण अधिकांश घरधनी र व्यवसायीहरू रातभर जाग्राम बसेका थिए। शनिबारको छुट्टी मनाउन निस्केका कतिपय व्यवसायी त पसलसम्म आइपुग्न समेत पाएनन्। आइपुगेकाहरूले पनि सामान झिक्ने मौका पाएनन्। बिहानैदेखि सडकमा डोजर चल्न थालेपछि घरभित्रै रहेका परिवारलाई सुरक्षाकर्मीले बाहिर निकाल्दै गरेको दृश्य कुनै युद्ध मैदानको भन्दा कम थिएन।
व्यवसायीहरूको अवस्था झन् दर्दनाक छ। एकातिर व्यापारको ऋण र अर्कोतिर पसल खाली गर्ने समयको अभाव। डोजरले एक्कासि संरचना भत्काउन थालेपछि धेरै व्यापारीले आफ्ना सुरक्षित र महँगा सामानहरू झिक्न समेत पाएनन्। सडकको धुलो र इँटाका टुक्राहरूका बीचमा आफ्नो व्यापारिक भविष्य पुरिएको टुलुटुलु हेर्नुको विकल्प उनीहरूसँग थिएन। हिजोसम्म हामी यहाँका प्रतिष्ठित व्यापारी थियौँ, आज एकै रातमा सडकमा पुग्यौँ, एक स्थानीय व्यापारीले पीडा पोखे।
वर्षौँदेखि सडक छेउका महलहरूमा बस्दै आएका परिवारहरूका लागि यो आकस्मिक उठीबास एक प्राकृतिक विपत्ति भन्दा कम रहेन। न बस्ने अर्को ठेगाना थियो, न सामान सार्ने पर्याप्त जनशक्ति र समय। कतिपय परिवारहरू आफ्ना सरसामान सडकमा राखेर अब कहाँ जाने भन्ने अन्योलमा रोइरहेका भेटिन्थे।
प्रशासनले सडक विस्तारको कानूनी बाटो त पायो, तर मानवीय संवेदनालाई भने डोजरले धुलोमा मिलाइदियो। वीरगञ्जको मुख्य सडक फराकिलो त होला, तर ती भत्किएका पर्खालहरू र सडकमा पोखिएका आँसुहरूले वीरगञ्जको इतिहासमा एउटा कहिल्यै नमेटिने घाउ छोडेर जाने निश्चित छ। विकासको नाममा मानवीय अस्तित्व यसरी छियाछिया पारिँदा आज पीडित घरधनी र व्यवसायीहरु स्तब्ध भएका छन।


















