७ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक शक्ति समीकरणमा नयाँ मोड देखिएको छ ।
पार्टीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएका भूपदेव शाहलाई महामन्त्रीको महत्वपूर्ण जिम्मेवारी सुम्पिने अन्तिम तयारी गरेको छ । वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहसँगको उच्चस्तरीय सहमतिपछि शाहलाई यो सांगठनिक नेतृत्व सुम्पिन लागिएको हो ।
यो कदमलाई राजनीतिक वृत्तमा रास्वपाभित्र बालेन शाहको पकड र सहभागिता झन् बलियो बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
बालेन काठमाडौँ महानगरको मेयर रहँदा उहाँको प्रमुख स्वकीय सचिवका रूपमा कार्यसम्पादन गर्नुभएका शाहलाई महामन्त्री बनाउने तयारीले पार्टीको आगामी रणनीतिमा बालेन पक्षको प्रत्यक्ष प्रभाव रहने निश्चित देखिएको छ ।
यसअघि बालेन निकटकै सुनिल लम्साललाई महामन्त्री बनाउने चर्चा भए पनि उहाँ वर्तमान सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेपछि भूपदेवका लागि बाटो खुलेको हो । अछाम–२ बाट निर्वाचनमा पराजित भए पनि पार्टीको मुख्य प्रशासनिक पदमा शाहको आगमनले रास्वपाको सांगठनिक संरचनामा बालेनको रुचिलाई प्राथमिकता दिइएको स्पष्ट हुन्छ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकले भूपदेवको मनोनयनसँगै पार्टीका अन्य रिक्त पदहरूमा पनि हेरफेर गर्ने सम्भावना छ । विशेष गरी उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि खाली रहेको सो पद र ‘एक व्यक्ति एक पद’ को नीतिलाई कार्यान्वयन गर्न केही प्रभावशाली नेताहरूको जिम्मेवारी फेरिन सक्छ ।
पार्टी सञ्चालन र निर्णय प्रक्रियामा बालेन शाहको सक्रियता बढ्दै जाँदा रास्वपाको अबको यात्रा नयाँ सांगठनिक स्वरूप र नेतृत्वका साथ अघि बढ्ने देखिएको छ ।

















