८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका ४० निर्वाचन क्षेत्रहरूका लागि विशेष साङ्गठनिक रणनीति अख्तियार गरेको छ ।
ती क्षेत्रका स्थानीय समस्या, जनगुनासो र विकासका मागहरूलाई संसदीय प्रक्रियामार्फत प्रभावकारी ढङ्गले सम्बोधन गर्न पार्टीले आफ्ना समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेर परिचालन गरेको हो । प्रत्यक्ष निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न नसकेका भूगोलमा पार्टीको उपस्थिति बलियो बनाउने र जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ यो कदम चालिएको रास्वपाले जनाएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्षतर्फ विजय प्राप्त हुन नसकेका क्षेत्रका मतदाताहरूले अभिभावकविहीन महसुस नगरून् र उनीहरूका मागहरू ओझेलमा नपरून् भन्ने हेतुले समानुपातिक सांसदहरूलाई कार्यविभाजन गरिएको हो । यसअघि ती क्षेत्रमा पार्टीको साङ्गठनिक सञ्जाल र संसदीय समन्वयमा केही शून्यता देखिएको भन्दै अब तोकिएका सांसदहरूले सम्बन्धित क्षेत्रको ‘फोकल पर्सन’ को रूपमा काम गर्नेछन् ।
उनीहरूले निर्वाचन क्षेत्रका जनताका समस्यालाई प्रत्यक्ष रूपमा सुन्ने र ती मुद्दाहरूलाई संसद एवं सरकारका सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल कदमी लिने जिम्मेवारी पाएका छन् ।
रास्वपाले प्रत्यक्षतर्फ हार व्यहोरेका ४० वटा निर्वाचन क्षेत्रको सूची तयार गरी सोही बमोजिम समानुपातिक सांसदहरूको दक्षता र अनुकूलता हेरेर कार्यविभाजन गरेको छ । यो अभ्यासले पार्टीलाई आगामी निर्वाचनका लागि आधार तयार गर्न र पराजित क्षेत्रहरूमा संगठनलाई गतिशील बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
समानुपातिक सांसदहरूलाई केवल संसदमा मात्र सीमित नराखी प्रत्यक्ष निर्वाचन क्षेत्रको विकास र राजनीतिसँग जोड्ने यो नयाँ शैलीले अन्य राजनीतिक दलहरूलाई पनि नयाँ सन्देश दिएको छ । अब ती क्षेत्रका जनताले आफ्ना समस्या समाधानका लागि सिधै रास्वपाका तोकिएका सांसदहरूसँग समन्वय गर्न सक्नेछन् ।



















