८ बैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पछिल्लो समय गम्भीर विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङलाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साम्पाङले गृहमन्त्रीको नाममा हप्तामै दुई–तीन पटक नयाँ–नयाँ विवाद सुन्निनु दुखद भएको टिप्पणी गरे । सुशासनको कुरा गर्ने सरकारका जिम्मेवार मन्त्री नै दिनहुँजसो प्रश्नको घेरामा परिरहनुले राम्रो सन्देश नदिने भन्दै उनले नैतिकताको आधारमा पद छोड्नु नै उपयुक्त विकल्प भएको बताएका हुन् ।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष साम्पाङले गृहमन्त्रीबारे सार्वजनिक भएका विषयवस्तुहरूले आफूलाई चिन्तित बनाएको उल्लेख गरे । ‘प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने कुरा आउला, त्यसैले म स्पष्ट भन्न चाहन्छु—उहाँबारे जहिले पनि नयाँ कुरा सुनिन्छ, त्यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो’ उनले भने । गृहमन्त्रीको कार्यशैली र उनीमाथि उठेका प्रश्नहरूले सरकारकै छवि धमिल्याएकोतर्फ संकेत गर्दै साम्पाङले अहिलेको गन्जागोल समाधान गर्न राजीनामा नै सबैभन्दा उत्तम बाटो भएको दाबी गरे ।
उनले सरकारलाई सत्ताको लुछाचुडीभन्दा पनि आम नागरिकले महसुस गर्ने गरी सुशासन कायम गर्न सचेत गराएका छन्। गृहमन्त्री गुरुङ र व्यवसायी दिपक भट्टबीचको साझेदारीका विषय सार्वजनिक भइरहँदा साम्पाङको यो कडा टिप्पणी आएको हो ।
राजनीतिक नेतृत्व स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले विवादको केन्द्रमा रहेर पद ओगटिरहनुभन्दा पद त्याग गरेर छानबिनलाई सहयोग पुर्याउनु नै राजनीतिक संस्कार हुने स्पष्ट पारेका छन् ।

















