८ बैशाख, काठमाडौँ । सुशासन र थिति बसाल्ने नारासहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले आफ्नै गृहमन्त्री सुधन गुरुङको विवादित छबिप्रति अन्देखा गरेको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएका विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीमा संस्थापक सेयर रहेको र सो विवरण सम्पत्ति विवरणमा समेत लुकाएको तथ्य बाहिरिएपछि गृहमन्त्री गुरुङको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।
रोचक त के छ भने, यसअघि आफ्नै पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गरेको सामान्य विवादमा श्रममन्त्री दीपककुमार साहलाई तत्कालै पदमुक्त गर्ने ‘बालेन सरकार’ र रास्वपा नेतृत्व अहिले शक्तिशाली मन्त्रालय सम्हालेका गुरुङको हकमा भने मौन र निरीह देखिएको छ ।
गम्भीर आरोप र ‘कन्फ्लेक्ट अफ इन्ट्रेस्ट’ को घेरामा गृहमन्त्री
गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरू सामान्य छैनन् । ‘जेनजी मुभमेन्ट’ ले त उहाँलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमै उजुरी समेत दर्ता गरिसकेको छ । आन्दोलनको आडमा बिचौलियाहरूसँग साठगाँठ गरी अकुत सम्पत्ति आर्जन गरेको र स्वार्थको द्वन्द्व निम्त्याएको भन्दै उहाँको चौतर्फी राजीनामा माग भइरहेको छ ।
तर, प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले श्रममन्त्री साहलाई झैँ गुरुङमाथि तत्काल एक्सन लिनुको साटो उहाँलाई राजनीतिक संरक्षण दिइरहेको भान हुन्छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा समेत विवादित गृहमन्त्रीको राजीनामाको एजेन्डाले प्रवेश पाएन।
रास्वपाको बचाउ र नेतृत्वको मौनतामाथि प्रश्न
पार्टीका प्रवक्ता मनिष झाले ‘पाँच कक्षामा पढ्दै गर्दा एसईईको नतिजा’ खोज्न नहुने भन्दै पत्रकारहरूलाई टार्ने प्रयास गरे पनि आम नागरिकमा भने रास्वपाको संस्कारप्रति आशंका बढेको छ । अर्कातर्फ, गृहमन्त्री गुरुङ आज दिउँसो आफैँ स्पष्टीकरण दिन सभापति लामिछानेको निवास बूढानीलकण्ठ पुग्नुले पनि उहाँ पद बचाउन शक्तिकेन्द्र रिझाउन व्यस्त रहेको देखिन्छ ।
पूर्वश्रममन्त्रीले स्पष्टीकरणको मौका समेत नपाई पद गुमाउनुपर्ने तर गृहमन्त्रीले भने गम्भीर आर्थिक र नैतिक विचलनका बाबजुद पनि पदमै बसिरहने यो दोहोरो मापदण्डले रास्वपा कुन शक्तिको दबाब वा प्रभावमा परेर गुरुङलाई जोगाउन लागिपरेको छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।
सुशासनको परीक्षाः बालेन र रविको आगामी कदम
विगतमा साना गल्तीमा कठोर बन्ने बालेन सरकार र रास्वपाका लागि गृहमन्त्री गुरुङको यो प्रकरण ‘अग्निपरीक्षा’ साबित भएको छ । सुशासनको पहरेदार दाबी गर्ने बालेन र रविले आफ्नै मन्त्रिमण्डलका ‘शक्तिशाली’ सदस्यमाथि उठेका प्रश्नको जवाफ कार्यान्वयनबाटै दिन्छन् वा सत्ता जोगाउन सम्झौता गर्छन्, त्यो हेर्न बाँकी छ ।
नागरिक समाज र प्रतिपक्षी दलहरूले यस घटनालाई नजिकबाट नियालिरहेका छन्, जसले आगामी दिनमा रास्वपाको साख र ‘क्लिन इमेज’ को भविष्य निर्धारण गर्ने निश्चित छ ।

















