Logo

१० बैशाख, काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले सबै सरकारी निकायमा विद्युतीय हाजिरी प्रणालीलाई अनिवार्य गर्न कडा निर्देशन जारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै मन्त्रालय, विभाग, कार्यालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूको उपस्थिति अब अनिवार्य रूपमा विद्युतीय माध्यमबाटै हुनुपर्ने व्यवस्था गरेको हो ।

मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले पठाएको पत्रअनुसार, हालसम्म विद्युतीय हाजिरी कार्यान्वयनमा नआएका कार्यालयहरूले तत्काल यो प्रणाली जडान गरी कर्मचारीको कार्यालय प्रवेश र बहिर्गमनको समय दुरुस्त राख्नुपर्नेछ ।

प्रशासनलाई थप पारदर्शी बनाउन मन्त्रालयले प्रविधिको प्रयोगमा मात्र जोड नदिई त्यसको भौतिक अभिलेखीकरणलाई समेत प्राथमिकतामा राखेको छ ।  जसअनुसार प्रत्येक १५ दिनमा विद्युतीय हाजिरीको विवरण प्रिन्ट गरी, प्रमाणित गरेर अनिवार्य रूपमा कार्यालयमा सुरक्षित राख्न निर्देशन दिइएको छ ।

गत वैशाख ८ गते भएको सचिवस्तरीय निर्णयलाई कार्यान्वयनमा लैजाँदै मन्त्रालयका शाखा अधिकृत पीताम्बर सारुले यो व्यवस्थाले सरकारी सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । कर्मचारीहरू समयमा कार्यालय नआउने र समय अगावै छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले यो कदम चालेको हो ।

अबदेखि सबै सरकारी निकायले आफ्नो हाजिरी प्रणालीको नियमित विवरण मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने र यसको प्रभावकारी अनुगमन समेत गरिने जनाइएको छ ।


सम्बन्धित समाचार