Logo

२४ बैशाख, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रचलित ऐन र निर्देशनको धज्जी उडाउने दुईवटा कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छ ।

बीमा ऐन, २०७९ तथा प्राधिकरणबाट जारी गरिएका विभिन्न निर्देशनहरूको पालना नगरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई जरिवाना गरेको हो । स्वच्छ र पारदर्शी बीमा बजार निर्माण गर्ने लक्ष्यका साथ प्राधिकरणले यी कम्पनीहरूले गरेका गल्तीका आधारमा नगद जरिवाना गर्ने निर्णय लिएको छ, जसले बजारमा नियमनकारी सक्रियता बढेको संकेत गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) माथि सम्पत्ति बीमा निर्देशिका, २०८० को उल्लंघन गरेको गम्भीर आरोप लागेको छ । निर्देशिकाको दफा २५ ९२० ले स्पष्ट रूपमा कुनै पनि बीमालेखको बीमाशुल्कमा अनावश्यक छुट, रिहायत वा सहुलियत दिन रोक लगाएको छ ।

यद्यपि, अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गर्दा निश्चित सीमासम्म छुट दिन पाइने कानुनी छिद्रलाई दुरुपयोग गर्दै सलिकोले तोकिएको व्यवस्था विपरित कार्य गरेपछि प्राधिकरणले दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । यसले ठूला बीमा कम्पनीहरूलाई पनि नियमभन्दा बाहिर जाने छुट नभएको सन्देश दिएको छ ।

यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले भने संस्थागत संरचना र स्वामित्व परिवर्तनको खेलमा नियम मिचेको पाइएको छ । पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका अनुसार कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले प्राधिकरणको पूर्वस्वीकृति बिना आफ्नो स्वामित्व परिवर्तन गर्न वा संस्था विघटन गर्न पाउँदैनन् ।

तर, लर्ड बुद्धले यी कानुनी प्रक्रियालाई लत्याउँदै स्वामित्व सम्बन्धी प्रावधान उल्लंघन गरेपछि बीमा ऐन बमोजिम पाँच हजार रुपैयाँ जरिवानामा परेको छ । साना देखिने यस्ता प्रक्रियागत त्रुटिहरूमा पनि प्राधिकरणले देखाएको कडा निगरानीले बीमा बजारमा थप अनुशासन कायम हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार