२४ वैशाख,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित कौवाबन गाउँको मुसहर बस्ती तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ केहुनियाको दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्री तथा खानेकुरा वितरण गरिएको छ।
फिस फर दलित फाउण्डेशनले सञ्चालन गरेको निःशुल्क ट्युसन कक्षामा अध्ययनरत दलित समुदायका ३ सय २० जना बालबालिकालाई कापी, कलम, झोला, चाउचाउ र बिस्कुट वितरण गरिएको हो।
फाउण्डेशनका अध्यक्ष मनोज रामका अनुसार उक्त सामग्री बौद्धिसत्व बिहार बुढानिलकण्ठले सहयोगस्वरूप उपलब्ध गराएको हो।
उनले दलित समुदायका बालबालिकाको पठनपाठनमा सुधार ल्याउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
सामग्री वितरण कार्यक्रममा फाउण्डेशनका सचिव दिपेन्द्र राम, सदस्य विनोद रामलगायतको उपस्थिति रहेको थियो।

















