Logo

२५ वैशाख, माडी (चितवन) । माडी नगरपालिका वडा नम्बर-३, इनर बरुवास्थित हरियाली महिला समूहले २०७५ सालदेखि निरन्तर रूपमा थारु समुदायको मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन् । उक्त बस्तीमा करिब १६० घरधुरी थारु समुदायको बसोबास रहेको छ, जहाँ सांस्कृतिक संरक्षणलाई व्यक्तिगत नभई सामूहिक जिम्मेवारीका रूपमा लिइएको छ ।

समूहमा हाल २५ जना सक्रिय महिलाहरू आवद्ध छन्, जसले थारु जातिको महान पर्व द्वितीय पर्व, माघे संक्रान्ति लगायत चितवन जिल्लामा आयोजना हुने विभिन्न मेला–महोत्सव, होमस्टे तथा गाउँघरका धार्मिक कार्यक्रममा सक्रिय रूपमा सहभागी भई आफ्नो मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन् ।

समूहले परम्परा र अनुशासनलाई पनि सँगसँगै अघि बढाएको छ। द्वितीय पर्व र माघे संक्रान्तिको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने सदस्यलाई रु ५०० जरिवाना गर्ने व्यवस्था गरिएको छ, जसले सबैलाई सक्रिय रूपमा जोड्ने काम गरेको छ । सांस्कृतिक कार्यक्रमबाट प्राप्त आम्दानी समूहमै संकलन गरी आवश्यकताअनुसार पुनः समुदायको काममा खर्च गरिँदै आएको छ। हालसम्म करिब रु १ लाख ५० हजार बराबरको रकम सांस्कृतिक पोशाक तथा आवश्यक सामग्री खरिदमा खर्च गरिएको छ।

समूहकी अध्यक्ष इन्द्रदेवी चौधरीका अनुसार, “हामीले आफ्नो मौलिक थारु भाषा, कला र संस्कृतिलाई जोगाउन निरन्तर अभ्यास गर्दै आएका छौँ। साँझको फुर्सदको समयमा हामी आफैँ मात्र होइन, आफ्ना छोराछोरीलाई समेत नाचगान सिकाउँदै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने काम गरिरहेका छौँ।” उनले यस अभियानलाई दीर्घकालीन सांस्कृतिक संरक्षणको प्रयासका रूपमा लिनुपर्ने बताईन् ।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटाले हरियाली महिला समूहको सक्रियताले माडीको मौलिक पहिचानलाई थप मजबुत बनाएको उल्लेख गर्दै भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समुदायस्तरबाट हुने यस्ता प्रयास अत्यन्त महत्वपूर्ण रहेको बताईन् । उनका अनुसार यस्ता पहलहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउनुका साथै समाजलाई आफ्नै जरा र पहिचानसँग जोडिराख्न दीर्घकालीन योगदान पुर्‍याउँछन्।

समूहकी सदस्य शिवरात्री कुमारी चौधरीका अनुसार, हामीले आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउन यो अभियान चलाएका हौँ । फुर्सदको समयमा परिवारका सदस्यहरू समेत उत्साहपूर्वक सहभागी हुन्छन् र संस्कृति सिक्ने वातावरण बनेको छ। तर अहिलेसम्म स्थानीय सरकारबाट अपेक्षित सहयोग भने प्राप्त हुन सकेको छैन ।

समूहले विशेष रूपमा द्वितीय पर्व र त्यसको एक हप्तापछि पर्ने पितृ औँसीलाई अझ विशेष रूपमा मनाउँदै आएको छ । उक्त दिन थारु समुदाय बिहानैदेखि गीत, नाच, खानपान र आपसी भेटघाटमा रमाउने गर्दछ । घर-घरमा पुगेर छिमेकी तथा आफन्तसँग आत्मीयता साट्ने, कपालमा तेल लगाइदिने, कपाल कोर्ने, मिठा परिकार खुवाउने जस्ता परम्परागत चलन आज पनि जीवित छ । बेलुका गाउँभरिका मानिसहरू एकै ठाउँमा भेला भई सामूहिक रूपमा खाना खाने परम्परा रहेको छ, जहाँ विशेष गरी चिचर, माछा, परम्परागत परिकार तथा स्थानीय पेय पदार्थ समेत प्रयोग गरिन्छ । यस्तो सामूहिकता र संस्कारले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाएको छ ।

यसरी हरियाली महिला समूहले आफ्नो मौलिक थारु संस्कृति, भाषा र परम्परालाई मात्र जोगाइरहेको छैन, त्यसलाई व्यवहारमा उतार्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने कार्यमा निरन्तर सक्रिय भूमिका खेलिरहेको छ । उनीहरूको यस प्रयासले माडी क्षेत्रको सांस्कृतिक पहिचानलाई जीवित राख्नुका साथै समुदायमा एकता, आत्मीयता र सांस्कृतिक गर्वको भावना थप मजबुत बनाएको छ ।


सम्बन्धित समाचार