Logo

२२ बैशाख, काठमाडौं । बिरामी सासूको स्याहारसुसार गर्नुपर्ने दायित्वबाट उम्किन बुहारीले नै हत्याको बाटो रोजेको एक बीभत्स घटना तीन वर्षपछि सार्वजनिक भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी कान्छी बुहारीलाई पक्राउ गरेको हो । २०७९ साल मंसिर १ गते छिमेकीको बारीमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनीकुमारीको शव फेला परेपछि सुरु भएको अनुसन्धानले लामो समयपछि सफलता पाएको छ ।

प्रहरीका अनुसार मृतक धनीकुमारी लामो समयदेखि प्यारालाइसिस रोगबाट थलिएकी थिइन् । शारीरिक रूपमा अशक्त सासूको रेखदेख र स्याहारसुसारमा झन्झट मान्दै आएकी बुहारीले सोही आक्रोशमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको समयमा दोषीको पहिचान हुन नसके पनि प्रहरीले निरन्तरको सूक्ष्म अनुसन्धान र प्रमाणहरूको विश्लेषणपछि सौतेनी बुहारीको संलग्नता पुष्टि गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता एवं प्रहरी निरीक्षक हरि भट्टराईले घटनाबारे प्रतिवादी खुल्न नसकेका कारण लामो समय फाइल मुल्तबीमा रहे पनि अहिले ठोस प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी बुहारीविरुद्ध जिल्ला अदालतबाट अनुमति लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । यो घटनाले सामाजिक सम्बन्ध र मानवीय संवेदनाको चरम अभावलाई उजागर गरेको छ।


सम्बन्धित समाचार