Logo

२५ बैशाख, काठमाडौं । सरकारले विदेशका विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक दूतहरूलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सिफारिस बमोजिम विभिन्न देशमा नियुक्त भएका ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरहरूलाई उनीहरूको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ती अवैतनिक दूतहरूले कूटनीतिक मर्यादा र कार्यक्षेत्रको पालना गरे नगरेको विषयलाई ध्यानमा राख्दै मन्त्रालयले पेस गरेको प्रस्तावमाथि छलफल गरी यो कदम चालिएको हो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले संघीय संसद्को आगामी बैठकका सम्बन्धमा पनि महत्वपूर्ण निर्णय गरेको छ । सरकारले आउँदो वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् । सरकारको यो निर्णयसँगै आगामी संसद् अधिवेशनमा राष्ट्रपतिको सम्बोधन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बाटो खुलेको छ ।

अवैतनिक दूतहरूको बर्खास्तीलाई सरकारले कूटनीतिक पुनरावलोकनको हिस्साका रूपमा हेरे पनि यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्वमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने परराष्ट्र विज्ञहरूले चासो व्यक्त गरेका छन् । सरकारले ती पदहरूमा नयाँ नियुक्तिको प्रक्रिया तत्काल सुरु गर्ने वा नगर्ने भन्नेबारे भने विस्तृत खुलाएको छैन ।


सम्बन्धित समाचार