Logo

२५ बैशाख, काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई स्वदेश फर्काउन सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले झाको रिहाइका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढिरहेको जानकारी दिनुभएको हो । इरानको वर्तमान विषम परिस्थितिका कारण केही कानुनी प्रक्रियाहरू पुरा हुन बाँकी रहे पनि नेपाल सरकारले सम्बन्धित निकाय र परिवारसँग निरन्तर समन्वय गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झालाई इरानी रिभोलुसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेट नजिकै रहेको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा लिएको थियो । इजरायल, अमेरिका र इरानबीच तनावपूर्ण स्थिति सिर्जना हुनुअघि इन्धन लिन इरान पुग्नुभएका झा तेल लिएर दुबई फर्किने क्रममा इरानी सेनाको फन्दामा पर्नुभएको हो । मन्त्रालयका अनुसार उहाँलाई सुरक्षित रूपमा नेपाल ल्याउनका लागि कूटनीतिक च्यानलमार्फत अधिकतम प्रयास भइरहेका छन् ।

प्रवक्ता पौडेलले झाको अवस्था र रिहाइको सुनिश्चितताका लागि इरानी पक्षसँग संवाद भइरहेको र कानुनी अड्चनहरू सुल्झाउनासाथ उहाँको घर फिर्ती हुने विश्वास व्यक्त गर्नुभएको छ ।

लामो समयदेखि विदेशी भूमिमा बन्धक रहेका आफ्ना नागरिकको रक्षाका लागि सरकार संवेदनशील रहेको भन्दै मन्त्रालयले परिवारलाई धैर्य रहन समेत आग्रह गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको यो नियन्त्रण र त्यसपछिको रिहाइ प्रक्रियालाई सरकारले उच्च प्राथमिकतामा राखेर हेरिरहेको छ ।


सम्बन्धित समाचार