२५ बैशाख, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको आगामी साताका लागि तय गरिएको दुई दिने नेपाल भ्रमण स्थगित भएको छ ।
नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि द्विपक्षीय सम्बन्ध र नयाँ प्राथमिकताका विषयमा छलफल गर्न उनी मे ११ मा काठमाडौं आउने तयारी थियो । तर, भारतीय पक्षले अन्य कार्यव्यस्तता र प्रतिबद्धता देखाउँदै हाललाई सो भ्रमण सारेको सरकारी उच्च स्रोतले जानकारी दिएको छ ।
नयाँ दिल्लीले भ्रमण स्थगनको जानकारी गराए पनि यसको ठोस र वास्तविक कारण भने अझै खुलाई सकेको छैन । छिमेकी मुलुकमा सत्ता परिवर्तन भएलगत्तै हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो ।
विशेषगरी सीमा विवाद, इन्धन र मल आपूर्तिका विषयमा संवाद हुने अपेक्षा गरिएका बेला भ्रमण स्थगित हुनुलाई चासोका साथ हेरिएको छ । यद्यपि, भारतले लिपुलेक लगायतका विवादित क्षेत्रमा नेपालको दाबीप्रति असहमति जनाए पनि मल र तेलको आपूर्ति भने नरोकिने संकेत दिएको छ ।
विदेश सचिव मिश्रीको भ्रमणको नयाँ मिति तय भइसकेको छैन। दुवै देशका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वय र अनुकूल समय हेरेर पुनः भ्रमणको तालिका मिलाइने बताइएको छ ।
नेपालमा भएको राजनीतिक परिवर्तनपछि भारतसँगको सम्बन्धलाई नयाँ आयाम दिने भनिए पनि यो पछिल्लो घटनाक्रमले कूटनीतिक संवादमा केही ढिलाइ हुने देखिएको छ । सरकारले भने यसलाई सामान्य प्राविधिक कारणका रूपमा लिएको छ ।

















