१२ जेठ,काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको करिब आधा काम सम्पन्न भएको छ। योजना प्रमुख तथा उपरथी धर्मेन्द्रकुमार झा का अनुसार आयोजनाले हालसम्म ४७.५६ प्रतिशत भौतिक तथा ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरूसहित नेपाली सेनाको टोलीले सोमबार द्रुतमार्गको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा योजना प्रमुख झाले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड (प्राइमरी क्लास ‘ए’) अनुसार निर्माण भइरहेको छ। आयोजनाअन्तर्गत ७ स्थानमा १०.९७९ किलोमिटर लम्बाइका ट्विन टनेल निर्माण भइरहेका छन् भने ८९ स्थानमा पुल निर्माणको काम जारी रहेको छ।
हालसम्म सुरुङमार्गतर्फ ६.४ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ। दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ भने ३.४ किलोमिटर लामो अर्को सुरुङको ‘ब्रेकथ्रु’ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सेनाले जनाएको छ। साथै ४ किलोमिटर सुरुङमा लाइनिङको काम सकिएको जानकारी दिइएको छ।
पुल निर्माणतर्फ ८९ मध्ये १६ वटा पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण सम्पन्न भएको छ। सडक निर्माणतर्फ ४७.११३ किलोमिटर क्षेत्रमा काम भइरहेको छ भने ७ किलोमिटर ‘सर्भिस लेन’ कालोपत्रे भइसकेको सेनाले जनाएको छ।
आयोजनाको प्रारम्भिक लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ रहेकामा परिमार्जनपछि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ। योजना प्रमुख झाले लागतमा २ अर्ब २ करोड रुपैयाँ घटाइएको जानकारी दिए।
द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा तीन वटा इन्टरचेन्ज तथा बुंगमती, बुदुने र निजगढमा तीन वटा टोल प्लाजा निर्माण गरिनेछ। साथै दुई वटा विश्रामस्थल पनि निर्माण हुने योजना रहेको छ।
आयोजनाअन्तर्गत देवीचौर, सिसौटार, चन्द्राम भीर, महादेवडाँडा, घेद्रे, लेनडाँडा र मौरीभीर गरी सात स्थानमा सुरुङमार्ग निर्माण भइरहेको छ। ती सुरुङहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको योजना प्रमुख झाले जानकारी दिए।
आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको छ। आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ।
त्यस्तै आयोजनाका लागि हालसम्म ५५ हजार ३०४ रुख कटान गरिएको छ। क्षतिपूर्तिस्वरूप ७ लाख ५ हजार ५१२ वटा वृक्षारोपण ५ हजार ८६ हेक्टर क्षेत्रमा गरिएको जानकारी पनि आयोजनाले दिएको छ।


















