१२ जेठ, काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सहकारी ठगी प्रकरण र ग्रामीण क्षेत्रको प्राकृतिक समस्यालाई जोडेर सरकारमाथि दह्रो प्रश्न उठाइएको छ ।
बैठकको विशेष समयमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशका विभिन्न सहकारीको अर्बौँ रकम अपचलन गरी फरार रहेका मुख्य अभियुक्त गितेन्द्रबाबु (जीबी) राईलाई कहिलेसम्ममा कानुनी दायरामा ल्याइन्छ भन्दै गृहमन्त्री र सरकारको कडा जवाफ माग गर्नुभएको छ ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका तर पक्राउ पर्न नसकेका राईको विषयलाई लिएर संसद्मा सांसद राईले सरकारको कार्यक्षमतामाथि नै औँला ठड्याउनुभएको हो ।
आफ्नो सम्बोधनका क्रममा सांसद राईले सहकारी पीडितहरूको आन्दोलन र न्यायको प्रसङ्गलाई निकै गम्भीरताका साथ उठाउनुभएको थियो। उनले सरकारले संकटग्रस्त सहकारीका पीडितहरूको बचत रकम सरकारी कोष अर्थात् राज्यको करबाट फिर्ता दिन खोजेको हो कि भन्ने आशंका व्यक्त गर्दै यसबारे बेलैमा स्पष्ट पार्न माग गर्नुभयो । सर्वसाधारणको पसिना लुटेर हिँड्ने दोषीहरूको सम्पत्ति जफत गरी पीडितलाई न्याय दिनुको साटो राज्यकोषको दुरुपयोग हुन नहुनेमा उहाँले जोड दिनुभयो ।
यसैगरी, सांसद राईले मुलुकका पहाडी तथा ग्रामीण भेगका किसानहरूले वर्षौँदेखि भोग्दै आएको अर्को एउटा व्यावहारिक र सास्तीपूर्ण समस्यालाई पनि संसद्को रोस्टमबाट मुखरित गर्नुभएको छ । गाउँघरमा बाँदरको आतङ्कका कारण बालीनाली भित्र्याउनै नपाएर किसानहरू विस्थापित हुने अवस्था आएको उल्लेख गर्दै उनले गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ ? भनी सरकारलाई व्यङ्ग्यात्मक प्रश्न गर्नुभयो ।
ठुला ठगीका अभियुक्त समात्न नसक्ने र गरिब किसानका सामान्य समस्या समेत हल गर्न नसक्ने भन्दै उहाँले वर्तमान सरकारको सुस्त कार्यशैलीप्रति तीव्र आक्रोश पोख्नुभएको छ ।


















