१३ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको सर्वोच्च नेतृत्व (अध्यक्ष) चयनका लागि सरकारले औपचारिक प्रक्रिया सुरु गरेको छ ।
अर्थ मन्त्रालयले एक विशेष सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट अध्यक्ष पदका लागि खुला आवेदन माग गरेको हो । नयाँ अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आगामी जेठ १९ गतेभित्र कार्यालय समयभित्र आफ्नो विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) बुझाउन आह्वान गरेको छ ।
इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दर्ता गराउनुपर्नेछ ।
प्राधिकरणको कमाण्ड सम्हाल्नका लागि सरकारले कडा शैक्षिक र व्यावसायिक मापदण्ड तोकेको छ । आवेदन दिनका लागि उम्मेदवारले बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर (मास्टर्स डिग्री) वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
यसका साथै सम्बन्धित क्षेत्रको उच्च व्यवस्थापकीय तहमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने अनिवार्य सर्त राखिएको छ । उम्मेदवारको उमेर सीमा ३० वर्ष पूरा भई ६५ वर्ष नकटेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने कानूनी व्यवस्था छ ।
यद्यपि, केही निश्चित पृष्ठभूमि भएका व्यक्तिहरूलाई भने यस प्रतिस्पर्धामा सहभागी हुन बन्देज लगाइएको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, तथा लागुऔषध कारोबार जस्ता नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका व्यक्तिहरू यसका लागि योग्य हुने छैनन् ।
त्यसैगरी, कर्जा सूचना केन्द्रको कालो सूचीमा परेर फुकुवा भएको ३ वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर/डीभी) लिएका, कुनै सार्वजनिक निकायको ठेक्कापट्टामा प्रत्यक्ष संलग्न रहेका वा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूले आवेदन दिन नपाउने महाशाखाले स्पष्ट पारेको छ ।


















