Logo

१३ जेठ, काठमाडौं । विगत २० दिनदेखि हलहरूमा प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘लालीबजार’ को कानुनी विवाद अझै सुल्झिन सकेको छैन ।

उच्च अदालत पाटनमा जारी सुनुवाइका क्रममा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलको इजलासले फिल्मको सक्कल सफ्ट कपी मगाएर इजलासमै हेर्न सुरु गरेको छ ।

रोशनी वादी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले हिजो प्रमाण मिसिलका रूपमा फिल्मको प्रतिलिपि इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुरूप निर्माण पक्षले सफ्ट कपी उपलब्ध गराएपछि न्यायाधीशहरूले त्यसको सूक्ष्म अध्ययन थालेका हुन् ।

अदालती प्रक्रियाका कारण फिल्मको सिंगो निर्माण टिम यतिबेला मानसिक तनावमा गुज्रिरहेको छ । हलहरूमा उत्साहजनक प्रदर्शन भइरहेका बेला प्रचारप्रसारमा खटिनुपर्ने मुख्य अभिनेत्री स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई लगायतको टोली अहिले अदालत परिसरमा उपस्थित छ । निर्माण स्रोतका अनुसार प्रदर्शनको महत्त्वपूर्ण समयमा कानुनी झमेला बेहोर्नु पर्दा टोलीलाई ठूलो व्यावहारिक र मानसिक असर परेको छ ।

न्यायाधीशद्वयले इजलासमा फिल्म हेरेर परिपक्व निर्णय लिने तयारी गरेका छन् । चलचित्रको विषयवस्तु र दृश्यहरू हेरिसकेपछि दुवै पक्षसँग आवश्यक छलफल गरिने र त्यसकै आधारमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय आउनेछ ।

यदि अदालतले फिल्ममा विवादास्पद वा कानुनी रूपमा त्रुटिपूर्ण दृश्यहरू फेला पारेमा प्रदर्शनमा रोक लगाउने वा आवश्यक परिमार्जन (संशोधन) गर्न आदेश दिन सक्ने जोखिम कायमै छ ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ व्यावसायिक रूपमा निकै सफल मानिएको छ, जसलाई हालसम्म दुई लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् भने यसले ६ करोड रुपैयाँभन्दा बढीको कुल ग्रस कलेक्सन गरिसकेको छ ।


सम्बन्धित समाचार