Logo

१३ जेठ, काठमाडौं । नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात अवस्थामा रहेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रतिनिधि सभा बैठकमा देशको मल आपूर्तिको अवस्थाबारे जानकारी दिँदै चालु आर्थिक वर्षमा हालसम्म कुल ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको स्पष्ट पारेकी छन् ।

आपूर्ति भएको मलमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानहरूलाई बिक्री–वितरण गरिसकिएको र बाँकी रहेको परिमाण गोदाममा मौज्दात रहेको, नेपाल भित्रिसकेको तथा गोदाममा इन्ट्री हुन बाँकी रहेको मन्त्री चौधरीले सदनलाई अवगत गराइन् । सरकारले चालु आर्थिक वर्षभित्र करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

चालु वर्षको लक्ष्य प्राप्तिका लागि प्रयास भइरहे पनि अन्तर्राष्ट्रिय परिदृश्यका कारण मल आयातमा केही व्यवधान खडा भएको मन्त्री चौधरीको भनाइ छ । विशेष गरी मध्यपूर्वमा चुलिएको द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खलामा समस्या पैदा हुँदा नेपाल आउनुपर्ने एक लाख ८७ हजार मेट्रिक टन मल अझै आयात हुन नसकेको उनले संसद्‌मा जानकारी दिइन् । यो अवरोधका बीच देशमा मलको अभाव हुन नदिन सरकारले वैकल्पिक प्रक्रियाहरू अगाडि बढाएको छ ।

मलको सम्भावित संकट टार्न र किसानलाई समयमै मल उपलब्ध गराउन सरकारले छिमेकी मुलुक भारतसँग सरकार–सरकार बीचको सम्झौता (जिटुजी) मार्फत थप मल खरिद गर्ने निर्णय गरेको छ ।

भारतसँग जिटुजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि मन्त्रिपरिषद्‍बाट आवश्यक स्वीकृति लिई प्रक्रिया तदारुकताका साथ अगाडि बढाइएको मन्त्री चौधरीले उल्लेख गरिन् । यस कदमले मुख्य बाली लगाउने सिजनमा किसानहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार