१५ जेठ, काठमाडौं । केही दिनदेखि सक्रिय रहेको मौसमी प्रणालीका कारण आज पनि देशभर वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, रातिदेखि सुरु भएको वर्षा आज दिनभर कायम रहनेछ, जसले गर्दा गर्मीमा भने केही राहत मिलेको छ । मौसमविद् बिनु महर्जनका अनुसार, हाल गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा परिरहेको पानी पूर्वतर्फ सरिरहेकाले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षाको पूर्वानुमान गरिएको छ ।
दिउँसोको समयमा वर्षाको गति केही कम भए पनि आज राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
विगत २४ घण्टामा देशका विभिन्न भागमा भारी वर्षा मापन गरिएको छ । डडेलधुराको ज्यामिरखालीमा सर्वाधिक १४४ मिलिमिटर वर्षा भएको छ भने कैलालीको बुढिआममा ११४ दशमलव ८ मिलिमिटर, नवलपरासीको देउरालीमा ११७ दशमलव २ र पर्वतको पन्चासेमा १०० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । काठमाडौं उपत्यकाको हकमा, ललितपुरको खुमलटारमा ५५।४ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६०।५ मिलिमिटर वर्षा मापन भएको छ । भारी वर्षाका कारण उपत्यकाका सडकहरू जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ ।
यद्यपि, मौसममा सुधारको संकेत देखिएको छ । मौसमविद् महर्जनका अनुसार, हाल सक्रिय रहेको मौसमी प्रणाली आइतबार, जेठ १९ गतेदेखि क्रमशः कमजोर हुँदै जानेछ । आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भए पनि तराईका जिल्लाहरूमा वर्षाको मात्रा घट्ने र मौसममा क्रमिक सुधार आउने विभागले जनाएको छ ।


















