१५ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जना विज्ञहरूले आवेदन दिएका छन् ।
उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त पेस गर्ने समय सीमाभित्र प्राप्त भएका १० वटा आवेदनमध्येबाट योग्य व्यक्तिको छनोट प्रक्रिया अघि बढाएको छ ।
उक्त पदका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेलसहित प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री, सह–प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले प्रतिस्पर्धाका लागि दरखास्त दिएका छन् ।
सिफारिस समितिले आवेदकहरूलाई कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्तामा सहभागी हुन तालिका सार्वजनिक गरेको छ । समितिका अनुसार, आगामी जेठ २६ गते उम्मेदवारहरूले आफ्नो कार्ययोजनासहितको सोचपत्र प्रस्तुत गर्नेछन् भने जेठ २७ गते अन्तर्वार्ता लिइनेछ । प्राडा अञ्जनीकुमार झाले पदबाट हट्नुपरेपछि रिक्त रहेको उक्त पदका लागि सरकारले नयाँ नेतृत्वको प्रक्रिया थालेको हो ।
यसैबीच, प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले अर्को व्यवस्था नभएसम्मका लागि प्राडा श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्षका रूपमा कामकाज गर्ने जिम्मेवारी प्रदान गरेका छन् ।
उक्त जिम्मेवारीसँगै प्राडा गिरीले मंगलबारदेखि नै आयोगको दैनिक कार्यसम्पादन सुरु गरिसकेका छन् । आयोगको दीर्घकालीन नेतृत्वका लागि हुन लागेको यो प्रतिस्पर्धालाई चिकित्सा शिक्षा क्षेत्रमा चासोका साथ हेरिएको छ ।


















