२८ जेठ, कलैया (बारा) । किसानहरू मलको अभावमा छटपटाइरहेका बेला बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्देश्यले लुकाएर राखिएको लाखौँ मूल्य बराबरको अवैध मल बारा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो बुधबार सुराकीका आधारमा प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोकामा ठूलो ’अपरेसन’ चलाएर उक्त अवैध मल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस नोट जारी गरि विभिन्न पसल, गोदाम र सहकारी संस्थाहरूमा लुकाई–छिपाई राखिएको नेपाली अनुदानको मल तथा भन्सार छलेर ल्याइएको भारतीय मलसहित ओसारपसारमा प्रयोग गरिएको गाडी समेत जफत गरिएको जनाएको छ ।
प्रहरीले प्रस्टोकामा सञ्चालित ’नितिक बिज भण्डार’ का सञ्चालक शिवशंकर साहले स्थानीय रामअवध सहनीको घरमा गोदाम गरी राखेको ४७ हजार ३ सय ४२ रुपैयाँ मूल्य बराबरको २१ बोरा अनुदानित पोटास मल बरामद गरेको छ ।
यसैगरी, सोही स्थान बस्ने रबिन्द्र साहको ’बिक्की गल्ला भण्डार’ बाट रु. ९६ हजार ३ सय १७ बराबरको ५९ बोरा अनुदानित पोटास मल र रमेश साहले सञ्चालन गरेको ’महा सरस्वती कृषि सहकारी संस्था लि.’ बाट भन्सार छली ल्याइएको इन्डियन युरिया २८ बोरा, अमोनियम सल्फेट १७ बोरा र नेपाली अनुदानित युरिया ८ बोरा गरी कुल ५३ बोरा मल जफत गरिएको छ ।
अनुसन्धानकै क्रममा म.प्र.०३ ००२ च ११८२ नम्बरको ई–लोडर गाडीमा लोड गरी लैजाँदै गरिएको १६ बोरा इन्डियन युरिया र ४ लाख रुपैयाँ बराबरको उक्त लोडर गाडी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मिन बहादुर घलेका अनुसार बरामद गरिएको मल र सवारी साधनको कुल जम्मा मूल्य ६ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
नियन्त्रणमा लिइएका सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ ।
खेतीपातीको मुख्य सिजन सुरु हुनै लाग्दा व्यवसायी र सहकारीकै मिलेमतोमा यसरी रासायनिक मल लुकाएर कृत्रिम अभाव खडा गर्ने र किसानलाई महँगोमा बेच्ने गिरोह सक्रिय भएको पाइएपछि प्रहरीले यस क्षेत्रमा आफ्नो निगरानी र खोजी अभियानलाई तीव्र पारेको डिएसपी घलेले बताए ।
















