Logo

२८ जेठ, गौर (रौतहट) । रौतहट जिल्लाको बौधीमाई नगरपालिका–७ बाडका बंकुल टोल क्षेत्रबाट ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बीउ प्रहरीले गोलि चलाएर बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे विशेष सूचनाको आधारमा उक्त क्षेत्रमा छापा मारेको थियो ।

सीमावर्ती बाटो नजिकै त्रिपालले ढाकेर शङ्कास्पद रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा ३२२ बोरा (जम्मा १२ हजार ८८० किलोग्राम) फर्सीको बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले जानकारी दिए ।

अवैध रूपमा संकलन गरिएको उक्त फर्सीको बीउ प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करीमा संलग्न र केही स्थानीय व्यक्तिहरूको समूहले प्रहरी टोलीमाथि अचानक अवरोध गर्दै ढुङ्गामुढा प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि भीडलाई तितरबितर पार्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीले बाध्य भएर ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

झडप र ढुङ्गामुढाका क्रममा तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त चिनियाँ (चाईनिज) फर्सीको बीउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ । बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको  डीएसपी वसन्त गौतमले जानकारी दिए ।

तस्करहरूले पछिल्लो समय रौतहट र बाराका विभिन्न ‘चोर नाका’ हरूको प्रयोग गरी चाईनिज फर्सीको बीउ भारतका विभिन्न प्रान्तहरूमा पुर्‍याउने गरेका छन् । पछिल्लो समय भारतमा स्वास्थ्य सचेतता बढेसँगै फर्सीको बीउलाई ‘डाइट’ को रूपमा उपभोग गर्ने लहर चलेकाले त्यहाँ यसको माग र मूल्य निकै उच्च रहेको छ । यही मागको फाइदा उठाउँदै सीमा क्षेत्रमा तस्करीको ठूलो सञ्जाल सक्रिय भएको हो ।

यो घटनाभन्दा ठीक एक महिना अघि पनि तस्करहरूले नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब ७० लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतको घोडासहन थाना क्षेत्र अन्तर्गत बरामद गरी कारबाहीको दायरामा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध ओसारपसार र तस्करी नियन्त्रणका लागि सुरक्षा निगरानी र कानुनी कारबाहीलाई थप कडा बनाइएको छ । यस घटनामा संलग्न तस्करहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


सम्बन्धित समाचार