२८ जेठ,काठमाडौं । फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिताका रूपमा हेरिएको छ।
पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहने विश्वकपमा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिता तीन देशका १६ सहरमा आयोजना हुनेछ, जसले यस संस्करणलाई अझ विशेष बनाएको छ।
विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज राति मेक्सिको सिटीस्थित स्टेडियममा हुनेछ। उद्घाटन खेलअघि आयोजना हुने समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलाको झल्को प्रस्तुत गरिनेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा विविध सांस्कृतिक कार्यक्रम समारोहका प्रमुख आकर्षण रहनेछन्।
उद्घाटन समारोहपछि प्रतियोगिताको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। समारोह नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ भने उद्घाटन खेल मध्यराति १२:४५ बजे खेलाइनेछ।
यसैबीच, क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा पनि विशेष उद्घाटन समारोह आयोजना गरिनेछ। टोरन्टोको कार्यक्रममा क्यानडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य प्रस्तुतिमार्फत उजागर गरिनेछ। लस एन्जलसमा हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको संयोजनले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। तीनवटै समारोहमा विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहनेछ।
यस संस्करणमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा चार टोली रहेका छन्। समूह चरणपछि शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट आठ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। नयाँ ढाँचाअनुसार पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएकाले कुल खेल संख्या ६४ बाट बढेर १०४ पुगेको हो।
प्रतियोगितामा कुल १ हजार २ सय ४८ खेलाडी सहभागी हुनेछन्। उनीहरू विश्वका ७१ देशका ४ सय ४९ व्यावसायिक क्लबबाट खेल्दै आएका खेलाडी हुन्, जसले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नेछन्।
पाँच पटकको विश्वविजेता ब्राजिल लगातार २३औँ पटक विश्वकप खेल्दैछ भने साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रिनेछ। फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स र ब्राजिललाई पनि उपाधिका प्रमुख दाबेदार मानिएको छ।
यसपटक एसियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदैछन्। ती टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
विश्वकपको अर्को मुख्य आकर्षण विश्व फुटबलका चर्चित स्टार खेलाडीहरू हुन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तथा अर्जेन्टिनाका लियोनल मेसीले फिफा विश्वकपमा छैटौँ सहभागिता जनाउँदैछन्। अन्तर्राष्ट्रिय फुटबल करियरको अन्तिम चरणतर्फ अग्रसर यी दुई महान खेलाडी सम्भवतः अन्तिम पटक विश्वकपमा देखिनेछन्।
४१ वर्षीय रोनाल्डो र ३९ वर्ष पुग्न लागेका मेसीसँगै क्रोएसियाका कप्तान लुका मोडरिच तथा मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ पनि अनुभवी खेलाडीका रूपमा प्रतियोगितामा सहभागी हुँदैछन्। यस्तै ब्राजिलका नेमार, बेल्जियमका केभिन डे ब्रुएना र इजिप्टका मोहम्मद सलाहका लागि पनि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
यस संस्करणका सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका ४३ वर्षीय क्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा रहेका छन्। दुवैले विश्वकपमा डेब्यु गर्ने तयारी गरिरहेका छन्।
मेसी र रोनाल्डोको सम्भावित अन्तिम विश्वकप, नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूको उदय, सांस्कृतिक विविधता, विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति र अत्याधुनिक प्रविधिको संयोजनले फिफा विश्वकप २०२६ लाई ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। आगामी एक महिनाभन्दा बढी समयसम्म विश्व खेलकुदको केन्द्रबिन्दु बन्ने यो प्रतियोगिताले विश्वभरका करोडौँ समर्थकलाई उत्साहित बनाउने विश्वास गरिएको छ।
















