२८ जेठ,काठमाडौं । विपिन आचार्यले संसदको शून्य समयमा उठाइने जनसरोकारका विषय कार्यान्वयन नहुने परिपाटीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाउने जनपक्षीय मुद्दा सरकारले बेवास्ता गर्ने गरेको टिप्पणी गरे। सभामुखलाई सम्बोधन गर्दै आचार्यले शून्य समयको प्रभावकारितामाथि प्रश्न उठाएका हुन्।
‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ,’ उनले भने, ‘तर जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ब्ल्याक होल समय राखौँ।’
वैज्ञानिक तथ्यअनुसार ब्ल्याक होलमा प्रकाशसमेत हराउने उल्लेख गर्दै उनले संसदमा नागरिकका आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी पनि त्यसरी नै हराउन नहुने बताए।
सांसद आचार्यले शून्य समयलाई केवल बोल्ने औपचारिकतामा सीमित नराख्न सभामुखसमक्ष प्रस्ताव समेत राखेका छन्। शून्य समयमा उठाइएका विषयहरूलाई अभिलेखमा मात्र सीमित नगरी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउनुपर्ने उनको माग छ।
त्यस्तै, सम्बन्धित मन्त्रालयले ती विषयमा गरेको काम र प्रगति निश्चित समयभित्र संसदलाई जानकारी गराउनुपर्ने व्यवस्था गर्न उनले आग्रह गरे।
‘शून्य समय जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि अगाडि बढ्ने बाटो पनि हुनुपर्छ,’ आचार्यले भने, ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने—यो परम्परा अब अन्त्य हुनुपर्छ।’
उनको भनाइले संसदमा उठाइने जनसरोकारका विषयको कार्यान्वयन र सरकारको जवाफदेहिताबारे पुनः बहस सुरु गराएको छ।
















