२८ जेठ,काठमाडौं । हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि टिप्पणी गर्दै बजेटले मुलुकका आधारभूत समस्या समाधानभन्दा सतही प्राथमिकतामा जोड दिएको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले वर्तमान बजेटलाई ‘खुट्टाको घाउ निको नपारी नयाँ जुत्ता लगाउन खोजेजस्तो’ भएको टिप्पणी गरे।
‘अहिले खुट्टामा घाउ छ, त्यसको उपचार नगरी नयाँ जुत्ता खोजिएको छ,’ उनले भने, ‘बजेटले वास्तविक आवश्यकता र प्राथमिकता पहिचान गर्न सकेको छैन।’
साम्पाङले मुलुकका धेरै क्षेत्रमा अझै पनि आधारभूत सेवा–सुविधाको अभाव रहेको उल्लेख गर्दै खानेपानी, सञ्चार तथा पूर्वाधारका समस्यालाई बजेटले पर्याप्त सम्बोधन नगरेको आरोप लगाए।
‘अहिले पनि धेरै ठाउँमा नागरिकले खानेपानी पाउन सकेका छैनन्। पहाडी तथा विकट क्षेत्रमा टेलिकमको नेटवर्कसमेत टिप्दैन,’ उनले भने, ‘यस्ता आधारभूत आवश्यकताले बजेटमा उचित प्राथमिकता पाएनन्।’
उनले सरकारले विकासका योजना बनाउँदा राजधानी केन्द्रित सोचबाट माथि उठ्नुपर्ने आवश्यकता औँल्याए। काठमाडौं बाहिरका नागरिकका समस्या र आवश्यकतालाई पनि बजेटले समान रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
बजेटमाथि व्यंग्य गर्दै साम्पाङले ‘काठमाडौं बाहिर पनि नेपाल रहेको’ कुरा सरकारले सम्झिनुपर्ने बताए। उनले बजेट निर्माण गर्दा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।
















