Logo

२८ जेठ,पोखरा । पोखराबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि उडान सुरु हुने र यसका लागि टिकट बुकिङ खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, स्थानीय दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणका प्रयासपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवको आयोजना मानिन्छ।

विमानस्थल सञ्चालनमा आए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए भने भारतमा हवाई एम्बुलेन्समार्फत एक पटक बिरामी ओसारपसारका लागि उडान गरिएको थियो।

तर नियमित अन्तर्राष्ट्रिय सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो। अब दुबईका लागि नियमित उडान सुरु हुने भएपछि पोखरा विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

पोम नारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई केवल पूर्वाधार परियोजना नभई दशकौँको सपना र संघर्षको प्रतिफलका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार विमानस्थल निर्माण भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश तथा समग्र नेपालको पर्यटन, व्यापार र आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ।

उनले २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने उडानका लागि टिकट बुकिङ सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा ट्राभल एजेन्सीमार्फत खुला गरिएको जानकारी दिए।

पोखराबाट दुबई उडान सुरु भएपछि पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै दुबईमार्फत विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने विश्वास पनि गरिएको छ।

विश्लेषकहरूले यो उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने र नेपालको हवाई सम्पर्क विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन्।


सम्बन्धित समाचार