Logo

१३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आउने नेपाली कामदारहरू ठगिने, अलपत्र पर्ने र विभिन्न प्रशासनिक झमेलामा फस्ने क्रम बढेपछि दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिसा प्रमाणीकरण प्रक्रियामा व्यापक कडाइ गरेको छ ।

व्यक्तिगत भिसामा श्रमिक भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार आइपुगेपछि भिसा, इमिरेट्स कार्ड तथा बिमाको व्यवस्था गर्न कम्पनीहरू गैरजिम्मेवार बनेको र रोजगार नै नपाएर श्रमिकहरूले अन्यत्र काम खोज्नुपर्ने बाध्यता सृजना भएपछि महावाणिज्यदूतावासले यस्तो कठोर कदम चालेको हो ।

महावाणिज्यदूतावासका अनुसार ‘व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका २०६९’ को अधीनमा रही अब निश्चित ५ वटा विशेष अवस्था र सर्तहरू पुरा भएमा मात्रै व्यक्तिगत भिसा प्रमाणीकरण गरिनेछ ।

नयाँ व्यवस्था अनुसार पहिलो सर्तका रूपमा, श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ । यो सुविधाका लागि नाता सम्बन्धभित्र आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, पति र पत्नी मात्र समेटिने छन्। दोस्रो अवस्थामा, कुनै व्यक्ति आफूले यसअघि काम गरेकै कम्पनीमा पुनः काम गर्न फर्कन चाहेमा, आफूले पहिला काम गरेको कम्पनीबाट प्राप्त गरेको इमिरेट्स कार्ड लगायतका आधिकारिक प्रमाणहरू पेस गर्नुपर्ने नियम बनाइएको छ ।

यसैगरी तेस्रो अवस्था अन्तर्गत, यदि कुनै व्यक्तिले इन्टरनेट वा अन्य माध्यमबाट आफैँ रोजगारी खोजी गरी दक्ष काममा आउन चाहेमा कडा जाँच गरिनेछ। यसका लागि सम्बन्धित व्यक्तिको प्रोफाइल, कम्पनीको विवरण, व्यक्तिको योग्यता र कामको प्रकृति मिल्दोजुल्दो हुनुपर्नेछ भने निजको दक्षता पुष्टि हुने आवश्यक कागजातहरू अनिवार्य बुझाउनुपर्नेछ । चौथो अवस्थाका रूपमा, यूएईको सरकारी निकाय वा त्यहाँस्थित कूटनीतिक नियोग तथा सम्बद्ध पदाधिकारीहरूबाट लिखित रूपमा अनुरोध भई आएको खण्डमा मात्र व्यक्तिगत भिसा प्रमाणीकरण गरिने जनाइएको छ ।

पाँचौँ अवस्था अन्तर्गत, यूएईको कुनै कम्पनीमा रोजगार गरिरहेको कामदार स्वदेश फर्कनु अघि निजले यूएईमा काम गरिसकेको व्यहोरा कागजातबाट स्पष्ट खुल्न आएमा पनि भिसा प्रमाणीकरण हुनेछ । तर, घरायसी वा निजी कामदार (डोमेस्टिक वर्कर) को रूपमा काम गरिरहेकाहरूको हकमा भने सन् २०२४ सेप्टेम्बरसम्मको भिसा हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।

महावाणिज्यदूतावासले व्यक्तिगत भिसा प्रमाणीकरणका लागि आवश्यक पर्ने विस्तृत प्रक्रिया र कागजातहरूको सूचीबारे बुझ्न श्रमिकहरूलाई आफ्नो आधिकारिक वेबसाइटको लिंकमा गएर हेर्न समेत विशेष अनुरोध गरेको छ ।


सम्बन्धित समाचार