१४ जेठ, वीरगञ्ज । नेपालले सामाजिक समावेशीकरण र मानव अधिकारको क्षेत्रमा विश्वमै एउटा ऐतिहासिक फड्को मारेको छ। नेपाल सरकारले विश्वमै पहिलो पटक तेस्रो लिंगी समुदायलाई समेटेर ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सुरक्षा मन्त्रालय’ को स्थापना गरेको छ।
नयाँ मन्त्रालयको गठन र हालै तेस्रो लिंगी समुदायका नागरिकबाट भएको सगरमाथाको सफल आरोहणले यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गरेको छ। यी दुवै उपलब्धिलाई नेपालमा समानता र पहिचानको लडाइँमा एउटा ठुलो कोशेढुङ्गाको रूपमा हेरिएको छ।
३० वर्षीय मन्त्री सीता वादीको कार्यकालमा गठन भएको यस मन्त्रालयले मानव अधिकार, समानता, समावेशीकरण र लैंगिक समुदायको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। सरकारको यस कदमप्रति ३५ वर्षीय तेस्रो लिंगी सांसद भूमिका श्रेष्ठले संसद बैठकमा खुसी व्यक्त गर्दै विशेष आभार प्रकट गर्नुभएको छ।
संसद सत्रमा बोल्दै सांसद श्रेष्ठले भन्नुभयो, यो मन्त्रालयको स्थापना र हाम्रै समुदायबाट भएको सगरमाथाको ऐतिहासिक आरोहणले विश्वसामु नेपाल प्रगतिशील र समावेशी मुलुक हो भन्ने प्रमाणित गरेको छ। यसले वर्षौँदेखि ओझेलमा परेका पहिचानहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनेछ।ू
संसद बैठकमा उपस्थित अन्य सांसदहरूले पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहित र विकासका लागि सरकारले ल्याएको यस कार्यक्रमप्रति पूर्ण सहमति जनाउँदै ताली बजाएर स्वागत एवं अभिवादन गरेका थिए।
ऐतिहासिक सगरमाथा आरोहणको सन्देश
मन्त्रालय गठनसँगै तेस्रो लिंगी आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुले यस अभियानलाई थप उचाइ दिएको छ।
यो आरोहण केवल एउटा हिमालको विजय मात्र नभई, लैंगिक अल्पसंख्यक समुदायले दृढ इच्छाशक्ति भएमा जुनसुकै चुनौती पनि पार गर्न सक्छन् भन्ने बलियो सन्देश हो।
नयाँ मन्त्रालय र सगरमाथाको यो ऐतिहासिक सफलताले आगामी दिनमा नेपालमा समतामूलक समाज निर्माण गर्न, सामाजिक विभेद अन्त्य गर्न र अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


















