Logo

१४ जेठ, माडी (चितवन) । माडी नगरपालिका-६ स्थित जनकल्याण माध्यमिक विद्यालय मा महिनावारी स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

२८ मेमा पर्ने महिनावारी स्वच्छता दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न सदनमा विभाजन गरी प्रतिस्पर्धात्मक रूपमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । यसले महिनावारी स्वास्थ्य, सरसफाइ तथा किशोर–किशोरी स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालयका माध्यमिक तह इन्चार्ज तथा अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक दिनेशमणि शर्माले गरेका थिए । प्रमुख अतिथिका रूपमा कल्याणपुर स्वास्थ्य चौकीका इन्चार्ज गोविन्दप्रसाद पौडेल रहेका थिए भने विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे विद्यालय नर्स सिर्जना तिवारीले प्रकाश पारेका थिए । स्वास्थ्य विषयका शिक्षकद्वय पूर्णकला पौडेल र इन्द्रप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतियोगिताको नतिजाअनुसार सागर खत्री, झरना श्रेष्ठ र आसिका तामाङ रहेको निलो सदनले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै युविन खत्री, सोनिका आचार्य र प्रशंसा पौडेल रहेको हरियो सदनले द्वितीय स्थान प्राप्त गरेको छ भने सृष्टि पौडेल, युकिसा भुजेल र सिर्जन काफ्ले रहेको रातो सदनले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगिताले विद्यार्थीहरूमा सहकार्य, आत्मविश्वास र स्वास्थ्यसम्बन्धी ज्ञान विकासमा सकारात्मक प्रभाव पारेको उक्त विद्यालयका शिक्षक राजु आचार्यले जानकारी दिए ।


सम्बन्धित समाचार