Logo

१४ जेठ, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि औपचारिक प्रस्ताव गरेका छन् ।

साम्पाङले बुधबार घिसिङलाई पार्टी एकताको निम्तो पठाएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन् । संसदीय दलका अध्यक्षसमेत रहेका साम्पाङले प्रमुख राजनीतिक दलका नेताहरूबीचको गठबन्धनलाई इंगित गर्दै प्रश्न गरेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान घिसिङ मिल्न नसक्ने?’ साम्पाङले एकता अपरिहार्य रहेको भन्दै आफूले निम्तो पठाइसकेको स्पष्ट पारेका छन् ।

श्रम संस्कृति पार्टीले यसअघि नै सुदन किराँती नेतृत्वको समूहलाई पार्टीमा समाहित गराएर आफ्नो प्रभाव विस्तार गरिरहेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले ७ सिट जितेर आफ्नो उपस्थिति बलियो बनाएको थियो भने उज्यालो नेपाल पार्टीले चुनावी परिणाममा कुनै सफलता हासिल गर्न सकेको थिएन । साम्पाङको यो एकताको प्रस्तावलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।


सम्बन्धित समाचार