Logo

१४ जेठ, काठमाडौँ । राइड सेयरिङ प्लेटफर्मका रूपमा परिचित पठाओ नेपालले आफ्नो सेवालाई थप विस्तार गर्दै अब हेलिकोप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरु गरेको छ ।

सिम्रिक एयरलाइन्ससँगको रणनीतिक सहकार्यमा कम्पनीले मोबाइल एपमार्फत नै हेलिकोप्टर बुक गर्न सकिने सुविधा ल्याएको हो । विगतमा राइड सेयरिङ, फुड डेलिभरी र पार्सल सेवामा मात्र सीमित रहेको पठाओ अब ‘सुपर एप’ बन्ने दौडमा अघि बढेको छ ।

नयाँ सेवाअन्तर्गत यात्रुहरूले पठाओ एप वा ‘पठाओ हेली डट कम’ वेबसाइटमार्फत सहज रूपमा मूल्य निर्धारणसहित हेलिकोप्टर बुक गर्न सक्नेछन् । विशेष गरी मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरजस्ता चर्चित पर्यटकीय तथा धार्मिक गन्तव्यहरूमा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

एउटा हेलिकोप्टरमा एक पटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न मिल्ने यो सेवा पारिवारिक भ्रमण, तीर्थयात्रा तथा छोटो समयमा पर्यटकीय गन्तव्य घुम्न चाहनेहरूका लागि निकै प्रभावकारी हुने देखिन्छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने लक्ष्यका साथ आफूहरू मोबिलिटीदेखि ई(कमर्ससम्मका सेवाहरूलाई एउटै प्लेटफर्ममा जोड्न प्रतिबद्ध रहेको बताएका छन् । आगामी नेपाल पर्यटन वर्ष, २०८५’ लाई समेत लक्षित गर्दै सुरु गरिएको यो सेवाले नेपालको हवाई पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

डिजिटल प्रविधिको प्रयोगबाट हवाई यात्रालाई सर्वसुलभ र व्यवस्थित बनाउने पठाओको यो कदमले सहरी र पर्यटकीय आवागमनमा नयाँ तरङ्ग पैदा गरेको छ ।


सम्बन्धित समाचार