१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमार्फत सरकारी कर्मचारीहरूको मनोबल उच्च राख्न र बढ्दो महँगीलाई सम्बोधन गर्न तलबमानमा भारी वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै आधारभूत तलबमा १० प्रतिशतले वृद्धि गर्नुका साथै मासिक १० प्रतिशत थप प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । हाल दिइँदै आएको महँगी भत्तालाई पनि यथावत राख्दै विभिन्न शीर्षक गरी कुल २१ प्रतिशत तलब वृद्धि गर्ने सरकारको निर्णय हो ।
यस नयाँ व्यवस्थासँगै अब सरकारी कर्मचारीहरूको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ कायम भएको छ भने उच्च तहका कर्मचारीहरूको तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
सरकारले कर्मचारीको जीवनस्तरमा सुधार ल्याउन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा भ्रष्टाचारमुक्त बनाउनका लागि प्रोत्साहनसहितको यो तलब वृद्धि गरेको हो । लामो समयदेखि तलब वृद्धिको अपेक्षामा रहेका सरकारी कर्मचारीहरूका लागि बजेटको यो घोषणाले ठूलो राहत प्रदान गर्ने देखिएको छ ।


















