Logo

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा वार्षिक बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी दिए।

सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने बाँकी स्रोत वैदेशिक अनुदान, ऋण तथा आन्तरिक ऋणमार्फत जुटाइने उल्लेख गरिएको छ।

बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ। यससँगै कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने भएको छ।

सामाजिक सुरक्षातर्फ सरकारले १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ। दलित बालबालिकाका लागि पोषण भत्ता, महिलाका लागि ‘ब्लु बस’ सञ्चालन तथा नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर बनाउने घोषणा बजेटमा समावेश गरिएको छ।

पूर्वाधार विकासतर्फ काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै विद्युतीय सवारी साधनमा अब क्षमताका आधारमा नभई मूल्यका आधारमा भन्सार महसुल लगाइने व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्यतर्फ नेपाल औषधी लिमिटेड लाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

प्रशासनिक सुधारअन्तर्गत सरकारले १८ मन्त्रालयको अवधारणालाई कडाइका साथ लागू गर्ने जनाएको छ। साथै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका मा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय पनि बजेटमार्फत गरिएको छ।

खेलकुद विकासका लागि पाँच वर्षभित्र पाँच वटा क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरिएको छ भने रेमिट्यान्स पठाउने नेपालीहरूका लागि चिठ्ठा कार्यक्रम सञ्चालन गर्ने जस्ता नयाँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

यस्तो छ बजेट पूर्णपाठ :-


सम्बन्धित समाचार