१६ जेठ,काठमाडौं । नेकपा एमाले ले प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘मिसन पार्टी जागरण’ अभियान सुरु गरेको छ। पार्टीले नेताहरूको कार्यविभाजनसँगै देशभर संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्रता दिएको जनाएको छ।
शुक्रबार जारी गरिएको अपानि–२ मार्फत पार्टीले नयाँ अभियानको घोषणा गरेको हो। गत जेठ १० गते सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको थियो। अपानिमा उक्त कार्यविभाजन, अध्यक्ष केपी शर्मा ओली को राजनीतिक सन्देश तथा स्थानीय तहसम्म नेताहरू परिचालन गरिएको विवरण समेटिएको छ।
पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको हो।
‘मिसन पार्टी जागरण’ अन्तर्गत स्थानीय तहसम्म नेताहरू परिचालन गरिएको बताउँदै आचार्यले महानगरपालिका र उपमहानगरपालिकाका वडासम्म केन्द्रबाटै इन्चार्ज तोकेर पठाइएको जानकारी दिए।
उनका अनुसार अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य, विभिन्न केन्द्रीय आयोगका सदस्य, प्रतिनिधिसभा उम्मेदवार, प्रदेश तथा जिल्लाका वरिष्ठ नेताहरूलाई समेत परिचालन गरिएको छ।
एमालेले स्थानीय तहमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा नेताहरूलाई प्रदेश, जिल्ला, जनसंगठन र विभागगत जिम्मेवारी समेत तोकेको जनाएको छ।
पार्टीले अभियानमार्फत संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउँदै आगामी निर्वाचनका लागि कार्यकर्ता परिचालन र जनमत निर्माणमा जोड दिने रणनीति अघि सारेको बताइएको छ।




















